७ भदौ,वीरगञ्ज । मलेसिया भ्रमणमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साकोवीरगञ्जमा फैलिएको हैजा संक्रमण नियन्त्रणका लागि सबै सम्भव उपाय तत्काल लागू गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहले स्वास्थ्य निर्देशनालय र स्थानीय स्वास्थ्य कार्यालयहरूलाई पूर्ण रूपमा सक्रिय रहन आग्रह गर्दै नारायणी अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई संक्रमित बिरामीको उपचारमा तत्पर रहन स्पष्ट निर्देशन दिएका छन्।
संक्रमण थप नफैलियोस् भनेर प्रभावित क्षेत्रमा तत्काल उपचार सेवा पु¥याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्यकर्मी परिचालन गर्न समेत मुख्यमन्त्रीले निर्देशन दिएका छन्।
प्रदेश सरकारले विशेष समन्वय र अनुगमनको जिम्मेवारीसहित स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज खटाएको जनाएको छ।
प्रदेश सरकारका अनुसार, संक्रमणको गम्भीरतालाई मध्यनजर गर्दै तत्काल राहत, उपचार, जनचेतना र निगरानी कार्यलाई सघन बनाउने लक्ष्यका साथ उच्चस्तरीय टोली खटाइएको हो।
प्रदेश सरकार हैजा नियन्त्रण र रोकथाममा कुनै ढिलासुस्ती नगर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय तह र संघीय निकायसँग समेत समन्वयमा काम गरिरहेको जनाएको छ।

















