Logo

८ भदौ,वीरगञ्ज । वीरगञ्जमा झाडापखला (हैजा) को प्रकोप तीव्र बनेपछि नारायणी अस्पताल, वीरगञ्जले अस्पतालमा कार्यरत चिकित्सकलगायत सम्पूर्ण कर्मचारीलाई विदा नबस्न आग्रह गरेको छ।

अस्पताल प्रशासनले आइतबार एक सूचना जारी गर्दै विदामा बसेका चिकित्सकहरूलाई पनि तुरुन्त हाजिर हुन अनुरोध गरेको हो। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको नारायणी अस्पतालले हालको स्वास्थ्य संकटलाई गम्भीर रूपमा लिएर यो निर्णय गरेको हो।

अस्पताल प्रशासनले भनेको छ, “वीरगञ्जमा झाडापखला (हैजा) को प्रकोप फैलिँदै गएको हुँदा रोग नियन्त्रण तथा उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीहरूको उपस्थिति अत्यावश्यक भएकोले यो सूचना जारी गरिएको हो।”

अस्पतालले सबै चिकित्सक, नर्स तथा कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा तत्काल हाजिर भई सेवा दिन आह्वान गरेको छ। साथै, आपतकालीन सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले विदा स्थगनको निर्णय गरिएको जनाइएको छ।


सम्बन्धित समाचार