Logo

८ भदौ, काठमाडौं । वीरगञ्जमा हैजाको प्रकोप फैलिएपछि गृहमन्त्री रमेश लेखकले त्यसलाई नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले आवश्यक परेमा सुरक्षा निकायलाई तुरुन्तै परिचालन गर्न सक्ने गरी पूर्वतयारी गर्न भनेका हुन्।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, गृहमन्त्रीले चिकित्सकसहितको मेडिकल टोली आवश्यक परेमा परिचालन गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिएका छन्। सोहीअनुसार, सबै सुरक्षा निकाय तयारीमा जुटेका छन्। बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू सहभागी थिए।

बैठकमा मुलुकभरको शान्ति सुरक्षाको अवस्थाबारे पनि गहन समीक्षा भएको जानकारी दिइएको छ। प्रवक्ता काफ्लेका अनुसार, विभिन्न मागसहित भइरहेका धर्ना, जुलुस र अन्य अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।

गृहमन्त्रीको यो निर्देशनले हैजाको प्रकोप नियन्त्रणका लागि सरकारले बहुआयामिक तयारी गरिरहेको संकेत दिएको छ।


सम्बन्धित समाचार