९ भदौ, गौर । रौतहट सदरमुकाम गौरमा १९ वर्षअघि भएको हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले जारी गरेको परमादेशको विरोधमा आइतवार गौरमा बृहत् जनप्रदर्शन गरिएको छ।
संयुक्त जनप्रदर्शन समितिको नेतृत्वमा निकालिएको उक्त प्रदर्शनमा विभिन्न दलका नेता, कार्यकर्ता, स्थानीय बासिन्दा तथा व्यवसायी सहभागी थिए। समितिका संयोजक रामकिशोर प्रसाद यादवको नेतृत्वमा प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय, धरखन चोक, जिल्ला अदालत, जिल्ला अस्पताल, सिँचाइ कार्यालय, जिल्ला प्रहरी कार्यालय हुँदै गौरका विभिन्न सडक परिक्रमा गर्दै बिपी चोकमा गएर कोणसभामा परिणत गरेका थिए।
सभालाई सम्बोधन गर्दै समितिका संयोजक यादवले सर्वोच्च अदालतले दिएको परमादेश पक्षपाती र योजनाबद्ध भएको आरोप लगाउँदै तत्काल फिर्ता गर्न माग गरे। उनले भने, “१९ वर्षअघिको घटनालाई फेरि राजनीतिकरण गरेर समाजमा तनाव सिर्जना गर्न खोजिएको छ। गौर घटनाको विषयलाई अब जनता स्वीकार गर्न सक्दैनन्।’
सभामा सहभागी विभिन्न दलका नेताहरूले पनि सर्वोच्चको आदेशलाई जनभावनाविपरीत भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरूले २०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडपमा २७ जनाको ज्यान गएको घटनामा स्थानीय बासिन्दालाई अन्यायपूर्ण तरिकाले फसाउन खोजिएको आरोप लगाएका हुन्।
प्रदर्शनमा सहभागीले ‘जनआवाजको हत्या बन्द गर’, ‘गौरवासीको अपमान सहिँदैन’, ‘राजनीतिक रचना अस्वीकार छ’ जस्ता नाराबाजी गरेका थिए।
प्रदर्शन शान्तिपूर्ण भए पनि सदरमुकाममा दिनभर तनावपूर्ण माहोल देखिएको थियो। सुरक्षाकर्मीहरूलाई संवेदनशील स्थानमा तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यसअघि सर्वोच्च अदालतले गौर हत्याकाण्डमा दायर रिटमाथि सुनुवाइ गर्दै पुनः छानबिन गर्न सरकारलाई परमादेश जारी गरेको थियो।















