Logo

९ भदौ,वीरगञ्ज । पर्सा जिल्लामा झाडापखाला र हैजाको बढ्दो जोखिमलाई नियन्त्रणमा लिनका लागि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको विशेष बैठक सम्पन्न भएको छ। मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहको विशेष उपस्थितिमा तथा समितिका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा बैठक बसेको हो।

बैठकले महामारी नियन्त्रणका लागि बहुपक्षीय सहकार्यमा आधारित ६ बुँदे निर्णय गरेको छ। निम्नानुसार छन् ती निर्णयहरू:

१. सघन सचेतना अभियान सञ्चालन
सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संघ–संस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, मिडिया र दातृ संस्थाको सहकार्यमा घरदैलो, माइकिङ र जनचेतनामूलक कार्यक्रमहरू तत्काल शुरु गरिनेछ।

२. स्वास्थ्यकर्मीको व्यवस्थापन
महामारीका बेला जनशक्ति अभाव हुन सक्ने भएकाले अत्यावश्यक बाहेक स्वास्थ्यकर्मीको बिदा रोक्ने निर्णय गरिएको छ। आवश्यकतानुसार स्थानीय तहबाट स्वास्थ्यकर्मीलाई खटाइनेछ।

३. औषधि तथा सामग्री सुनिश्चितता
स्वास्थ्य कार्यालय, पर्साले हैजा तथा झाडापखालासँग सम्बन्धित औषधि, किट र पानी शुद्धिकरणका सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउने पहल गर्नेछ। यसका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरिनेछ।

४. फोकल पर्सनको तोकाइ
सूचना संप्रेषण र समन्वयका लागि छुट्टै फोकल पर्सन तोकिनेछ, जसले महामारी नियन्त्रणमा भूमिका निर्वाह गर्नेछ।

५. स्रोत साधनको वितरण र अनुगमन
संघीय तथा प्रदेश सरकारबाट प्राप्त जनशक्ति र स्रोत साधन जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन र अनुगमन गरिनेछ।

६. महामारी अनुसन्धान
महामारी नियन्त्रण तथा अनुसन्धानको कार्य स्थानीय तहमार्फत गरिनेछ। आवश्यक प्राविधिक सहयोग प्रदेश तथा संघीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउनेछ।

बैठकले सर्वपक्षीय समन्वयमा महामारी नियन्त्रण, स्रोतसाधनको प्रभावकारी प्रयोग र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल पर्सामा हैजासँग मिल्दोजुल्दो लक्षण देखिने बिरामीको संख्या बढ्दो छ। यसलाई मध्यनजर गर्दै सबै निकायलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।


सम्बन्धित समाचार