Logo

९ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण समुदायस्तरमै फैलिँदै गए पनि संक्रमणको स्रोत अझै पहिचान हुन सकेको छैन। पछिल्ला केही दिनयता लगातार हैजाका बिरामी फेला परिरहेका छन् भने अस्पतालहरूमा उपचारका लागि चाप बढ्दो छ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला परिसकेका छन्। “आइतबार बेलुका ८ बजेसम्म ७१ जना संक्रमित भेटिएका थिए, सोमबार बिहानसम्म थप ८ जना थपिएका छन्,” ठाकुरले जानकारी दिए।

हैजाको स्रोत पत्ता लाग्न बाँकी

ठाकुरले हैजाको वास्तविक स्रोत अझै पत्ता नलागेको बताउँदै विश्व स्वास्थ्य संगठन (WHO) र अन्य प्राविधिक टोलीहरूले पानीको परीक्षण लगायतको काम गरिरहेको बताए। “हामी आशावादी छौं कि आजभित्र स्रोत पत्ता लाग्न सक्छ,” उनले भने। नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार आइतबारसम्म ३० जना हैजाका बिरामी भर्ना भइसकेका छन्।

उनले अस्पतालमा श्यया, जनशक्ति र उपचार सामग्रीको अभाव रहेको गुनासो गरे।“अहिलेसम्म कुनै पनि निकायबाट वास्तविक रूपमा आवश्यक सहयोग आइपुगेको छैन,” उनले भने, “कागजी प्रक्रिया मात्र भएको छ, तर व्यवहारमा सहयोग देखिएको छैन।”

अन्य रोगको चाप पनि बढ्दो

डा. सिंहले हैजाको महामारीसँगै सर्पदंश, ज्वरो, प्यारालाइसिस लगायतका बिरामीको चाप पनि अत्यधिक रहेको जनाए। “हामी सीमित जनशक्तिले धेरैखाले समस्यासँग लडिरहेका छौं,” उनले भने, “तर आन्तरिक र बाह्य दुवै खालको सहयोगको खाँचो छ।”

विभिन्न अस्पतालमा कोलेरा संक्रमण पुष्टि

नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना कलेरा सङ्क्रमित बिरामी भेट्टिएका हुन् ।

त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्तताल, मङ्गलम प्याथोलोजीमा दुई–दुई जनाको दरले आठ जना हैजा कोलेरा सङ्क्रमित बिरामी भेट्टिएका छन् । थप आठ जना बिरामी सोमबार विहानीको समयमा थपिएको सोको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन ।

वीरगञ्जमा हैजाको संक्रमणले गम्भीर रूप लिन थालेको छ। संक्रमणको स्रोत अझै अज्ञात रहँदा नियन्त्रण प्रयासमा चुनौती देखिएको छ। अस्पतालहरूमा जनशक्ति, सामग्री र व्यवस्थापन पक्षमा कमी रहेकाले स्वास्थ्य अधिकारीहरूले सरकार र सरोकारवाला निकायहरूलाई तात्कालिक सहयोगको अपिल गरेका छन्। संक्रमण रोक्न सचेतना, सरसफाइ र सुरक्षित खानेपानीको व्यवस्था अत्यावश्यक बनेको जनस्वास्थ्य विज्ञहरूको सुझाव छ।


सम्बन्धित समाचार