९ भदौ,वीरगञ्ज । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा बिर्तामा हरितालिका तीजको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली संस्कृतिको संरक्षण र विद्यार्थीहरूमा सिर्जनशीलता विकास गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमराज चौधरी प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमको सुरुमा अतिथिहरूलाई स्वागत गर्दै तीजको ऐतिहासिक र सांस्कृतिक महत्वबारे संक्षिप्त मन्तव्य प्रस्तुत गरिएको थियो। त्यसपछि विद्यालयका विद्यार्थीहरूले तीज गीत, नृत्य, कविता वाचन तथा अभिनयजस्ता विविध सांस्कृतिक प्रस्तुति दिएर दर्शकहरूलाई मन्त्रमुग्ध बनाए।
सांस्कृतिक प्रतियोगिताका रुपमा आयोजना गरिएको कार्यक्रममा सहभागी विद्यार्थीहरूको प्रस्तुतिलाई निर्णायक मण्डलले मूल्यांकन गरी उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई प्रमुख अतिथि चौधरीले सम्मानित गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी लगायतको सक्रिय उपस्थिति देखिएको थियो। साथै विद्यालय परिवारले सबै शिक्षक, शिक्षिका तथा कर्मचारीहरूलाई ‘दर’ खुवाएर तीजको उल्लासलाई थप रंगीन बनाएको थियो।
कार्यक्रमको समापनमा प्रधानाध्यापक चौधरीले यस्ता गतिविधिहरूले विद्यार्थीहरूमा नेपाली संस्कृतिप्रतिको सम्मान जागृत गराउनुका साथै सिर्जनशील क्षमता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।















