९ भदौ,वीरगञ्ज । पर्साको वीरगञ्जमा हैजा संक्रमण फैलिएको मुख्य कारण नेपाल खानेपानी संस्थानले उपलब्ध गराएको दूषित पानी भएको पाइएको छ। संक्रमित भएका अधिकांश बिरामीले धाराको पानी खाएको र त्यस क्षेत्रमा खानेपानीको पाइप फुटेर ढल मिसिएको पुष्टि भएको छ।
खानेपानीमा ढलको मिसावट
खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आएको प्राविधिक टोलीले गरेको अनुगमनका क्रममा पाइपलाइनमा ढल मिसिएको पत्ता लागेको हो। खानेपानी र ढलको एउटै पाइपलाइन, जथाभावी डिप बोरिङ र नाला नजिकै पाइप जडान गरिएकाले हैजाको संक्रमण फैलिएको पाइएको छ। खानेपानीमन्त्री प्रदीप यादवसहितको टोलीले पानीको परीक्षण र शुद्धीकरणका लागि प्रभावित क्षेत्रमा ’पियुष’ लगायतका सामग्रीसहितको मोबाइल टोली परिचालन गरेको छ।
बिरामीको संख्या बढ्दै, अस्पतालमा चाप
वीरगञ्जमा हैजाका बिरामीको संख्या तीव्र रूपमा बढेको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म ७९ जना हैजाका संक्रमित फेला परेका छन्। नारायणी अस्पतालमा २६, तराई अस्पतालमा २५, नेशनल मेडिकल कलेजमा ९, भवानी अस्पतालमा ३ र अन्य अस्पतालहरूमा गरी कुल ७९ जनामा हैजा पुष्टि भएको छ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, हैजाका बिरामीभन्दा दोब्बर झाडापखालाका बिरामी भर्ना भएका छन्। अस्पतालमा बेड अभाव हुँदा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ।
संकट व्यवस्थापनका लागि उच्चस्तरीय बैठक
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले महामारी नियन्त्रणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक बाहेकका स्वास्थ्यकर्मीहरूको बिदा रोक्ने र आवश्यकता अनुसार उनीहरूलाई तोकिएको स्वास्थ्य संस्थामा खटाउने निर्णय गरेको छ।
बैठकमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो। हैजा रोकथामका लागि सबै निकायसँग समन्वय गरी माइकिङ, घरदैलो र सचेतना कार्यक्रम सञ्चालन गरिने निर्णय पनि बैठकले गरेको छ। महामारीको स्रोत पत्ता लगाउन अनुसन्धान गर्ने र त्यसका लागि प्राविधिक सहयोग संघीय तथा प्रदेश सरकारले उपलब्ध गराउने जनाइएको छ।

















