Logo

९ भदौ, वीरगञ्ज ।वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलिँदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सोमबार नारायणी अस्पतालको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था, औषधि आपूर्ति, सेवा प्रवाह, तथा उपचारमा देखिएका चुनौतीहरूको प्रत्यक्ष जानकारी लिएका हुन्।

मन्त्री पौडेल बिरामीका शय्या नजिकै पुगेर स्वास्थ्य अवस्था बुझ्नुका साथै औषधि वितरणको अवस्थाबारे चासो व्यक्त गरे। एक बिरामीका आफन्तले डाक्टरले तोकेको औषधि आफैंले किन्नुपरेको गुनासो राख्दा मन्त्री पौडेलले तत्काल सम्बन्धित पक्षलाई जानकारी लिई समाधान गर्न निर्देशन दिएका थिए।

निरीक्षणका क्रममा अस्पतालका एक स्वास्थ्यकर्मीले सलाइन र इन्जेक्सनजस्ता सामग्रीहरू निःशुल्क भए पनि केही अन्य औषधिका लागि शुल्क लाग्न सक्ने जानकारी गराएका थिए।

हैजा संक्रमितको संख्या बढ्दो

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म वीरगञ्जमा ७९ जना हैजाका संक्रमित बिरामी फेला परिसकेका छन्। आइतबार रातिसम्म ७१ संक्रमित थिए भने सोमबार विहान थप ८ जना थपिएका हुन्। ती नयाँ संक्रमित कुन अस्पतालमा परीक्षण गरिएका हुन् भन्ने विवरण भने खुल्न बाँकी रहेको जनाइएको छ।

थप छलफल र समन्वय

अनुगमनपछि मन्त्री पौडेलले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, स्वास्थ्य कार्यालयका अधिकारीहरू र अन्य सरोकारवालासँग हैजा नियन्त्रणका लागि भइरहेका प्रयासहरूबारे समीक्षा तथा समन्वयात्मक छलफल गर्ने कार्यक्रम रहेको छ।

हाल हैजा नियन्त्रणका लागि स्थानीयदेखि संघीय तहसम्मको समन्वयमा प्रभावित क्षेत्रमा पिउने पानीको शुद्धीकरण, घरदैलो जनचेतना कार्यक्रम, र उपचार सेवाको सुदृढीकरण भइरहेको छ।


सम्बन्धित समाचार