Logo

१० भदौ,वीरगञ्ज । ,वीरगञ्जमा हैजाको संक्रमण तीव्र रूपमा फैलिरहेको पाइएको छ। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) ले परीक्षण गरेको वीरगन्जका बिरामीहरूको दिसाको १० वटा नमुनामध्ये ८ वटामा हैजाको जीवाणु (Vibrio cholerae) पुष्टि भएको छ।

प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार, सब-कल्चर प्रक्रियाबाट हैजाको संक्रमण पुष्टि भएको हो। “बाँकी दुई नमुनाको रिपोर्ट बुधबार आउनेछ, तर सम्भवतः ती पनि पोजिटिभ नै आउनेछन्,” उनले भने। प्रयोगशालाले गरेको परीक्षणमा ८० प्रतिशतभन्दा बढी नमुनामा हैजा पुष्टि हुनुले समुदायस्तरमा संक्रमण फैलिरहेको संकेत गरेको डा. भट्टले बताए।

३९१ जना बिरामी, २२० जना उपचाररत

यसअघि गत शुक्रबार वीरगन्जको तराई हस्पिटलमा शंकास्पद बिरामी देखिएपछि स्वास्थ्य कार्यालय पर्साले ३० जनाको कीट परीक्षण गर्दा ३ जनामा हैजा पुष्टि भएको थियो।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार, शुक्रबारदेखि हालसम्म हैजा र झाडापखालाका ३९१ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएका छन्। तीमध्ये १७१ जना उपचारपछि घर फर्किसकेका छन्।

अहिले वीरगन्जका विभिन्न अस्पतालमा २२० जना बिरामी उपचाररत छन्। सबैभन्दा बढी १०६ जना बिरामी नारायणी अस्पतालमा उपचार गराइरहेका छन्। यसैगरी, नेशनल मेडिकल कलेजमा ३१, वीरगन्ज हेल्थकेयर हस्पिटलमा २०, सर्वोत्तम हस्पिटलमा ९, एडभान्स मेडिकेयर हस्पिटलमा ६, प्रभु हस्पिटलमा ५, नीलकण्ठ हस्पिटलमा ३ र नारायणी सेन्टर हस्पिटलमा २ जना बिरामीको उपचार भइरहेको छ।

पर्सा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, शुक्रबारदेखि मंगलबार बिहानसम्म ९५ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।

यस्तो अवस्थामा, सरसफाइमा विशेष ध्यान दिन र उमालेको पानी मात्र पिउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।


सम्बन्धित समाचार