Logo

१० भदौ,वीरगञ्ज । पछिल्ला केही दिनयता झाडापखाला र हैजाको संक्रमण तीव्ररूपमा फैलिरहेको वीरगञ्जमा संक्रमितको संख्या बढिरहँदा वीरगञ्ज महानगरपालिकाले आफैँ परीक्षण प्रक्रिया सुरु गरेको छ। संक्रमणको मूल कारणमध्ये दूषित पानी रहेको आशंकाका आधारमा पानीको गुणस्तर परीक्षणको अभियान थालिएको हो।

महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार, नगरभित्रका शंकास्पद क्षेत्रमा पाइपबाट प्रवाह भइरहेको पानीमा इ.कोली र कोलिफर्म जस्ता सूक्ष्मजीवको उपस्थिति परीक्षण गर्न सोमबारदेखि नमुना संकलन र प्रयोगशाला परीक्षण सुरु गरिएको हो।

संक्रमण फैलिनुको सम्भावित मूल स्रोतः दूषित खानेपानी

महानगरको प्रारम्भिक मूल्याङ्कन अनुसार, झाडापखाला तथा हैजाको मुख्य कारण खानेपानीमा भएको संक्रमण हुनसक्ने देखिएको छ। यही सन्दर्भमा नगरको प्राविधिक टोलीले वडा नम्बर १०, ११ र १२ का पाँच विभिन्न स्थानमा रहेका धाराबाट पानीको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको हो।

परीक्षणको जिम्मेवारी सम्हालिरहेका माइक्रोबायोलोजिस्ट अजय मण्डल र वातावरण निरीक्षक प्रकाश ऐर सहितको टोलीले परीक्षण कार्यलाई तीव्रता दिएको जानकारी दिएका छन्।

छपकैयास्थित केन्द्रमा आधुनिक प्रयोगशाला स्थापना

वीरगञ्ज महानगरपालिकाले पानी परीक्षणलाई नियमित र व्यवस्थित बनाउनका लागि छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै अत्याधुनिक प्रयोगशाला स्थापना गरेको छ।यस प्रयोगशालामा अहिले युनिसेफले उपलब्ध गराएको किटको प्रयोग गरी इ.कोली र कोलिफर्म परीक्षण सुरु गरिएको मेयर सिंहले जानकारी दिए।

“हामीले ई.कोलीको प्रारम्भिक रिपोर्ट २४ घण्टामा पाउँछौं भने कोलिफर्म परीक्षणको विस्तृत रिपोर्ट ७२ घण्टा लाग्छ,” माइक्रोबायोलोजिस्ट मण्डलले बताए।
“परीक्षणको नतिजाले कुन क्षेत्रमा कस्तो स्तरको दूषित पानी छ भन्ने तत्काल पत्ता लगाउँछ, जसअनुसार आवश्यक कदम चाल्न सकिन्छ।”

संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता

महानगर प्रमुख राजेशमान सिंहका अनुसार, हालको अवस्थामा संक्रमण नियन्त्रण सर्वोच्च प्राथमिकता हो। “महानगरको उद्देश्य नागरिकलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो,” मेयर सिंहले भने।“यहीकारण हामीले आफ्नो स्तरबाट परीक्षण कार्य अघि बढाएका हौँ। अब परीक्षणको नतिजाका आधारमा तुरुन्त सुधारात्मक काम गरिनेछ।”

उनले नागरिकहरूलाई सतर्क रहन, उमालेर मात्र पानी पिउन, हातधुने बानी अपनाउन र संक्रमण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रहसमेत गरेका छन्।

पृष्ठभूमिः ९५ जनामा हैजा पुष्टि, २२० उपचाररत

गत शुक्रबारदेखि वीरगञ्जमा सुरु भएको हैजा तथा झाडापखलाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। स्वास्थ्य कार्यालय पर्साका अनुसार अहिलेसम्म ९५ जनामा हैजा पुष्टि भइसकेको छ भने २२० जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन्।

 


सम्बन्धित समाचार