१० भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२० हरपतगन्जमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमार्फत ठेक्का दिइएको सडक तथा नाला निर्माणको काम अधुरो र अलपत्र अवस्थामा रोकिएको छ। विगत ३–४ महिनादेखि पप्पु/स्वच्छन्द जेभी नामक निर्माण कम्पनीले काम छाडेपछि स्थानीयवासी धुलो, फोहोर र दुर्गन्धको समस्याले त्रस्त भएका छन्।
वडाध्यक्ष रामकिशोर सिंह परागका अनुसार ठेकेदार कम्पनीले सडक र नाला निर्माणका लागि खनिएको खाल्डो जस्ताको तस्तै छाडेर हिँडेको हो।“पानी जमेर दुर्गन्ध फैलिएको छ, लामखुट्टेको बास बनेको छ, हैजा, झाडापखाला र डेंगु जस्ता रोगको जोखिम भयावह बन्दैछ,“ उनले भने।
प्रमाणसहित गुनासो, निर्माण कार्यालयलाई ध्यानाकर्षण
स्थानीयको समस्यालाई ध्यानमा राख्दै वडाध्यक्ष परागले सोमबार स्थानीय अगुवासहित वीरगन्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुखलाई औपचारिक पत्र बुझाएका छन्।
पत्रमार्फत अधुरो काम तत्काल सुचारु गराउन र ठेकेदारलाई जवाफदेही बनाउन माग गरिएको छ।
“महिनौंदेखि कुनै काम नगरी अलपत्र छाडिएको निर्माण स्थलले अहिले वातावरणीय तथा स्वास्थ्य संकट निम्त्याएको छ,“ वडाध्यक्ष परागले बताए।“हामीले पटक–पटक आग्रह गर्दा पनि ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएको छ।“
स्वास्थ्य जोखिम चुलिँदै, स्थानीयवासी त्रसित
स्थानीयवासीहरूका अनुसार अधुरो सडक र नालाका कारण दैनिक आवत–जावतसमेत कठिन भएको छ।खाल्डोमा जमेको फोहोर पानीले लामखुट्टे बढेको, बालबालिका बिरामी पर्न थालेको, दुर्गन्धका कारण खाना खान पनि गाह्रो भएको उनीहरूको गुनासो छ।“न काम हुन्छ, न सफाइ हुन्छ, पानी पँधेरा जाँदा बच्चा लडेर घाइते भए,“ एक स्थानीय महिलाले बताइन्।
कसको जिम्मेवारी?
वडाध्यक्ष परागले अब निर्माण आयोजनाले ठेकेदारलाई तत्काल जिम्मेवारी तोक्नुपर्ने बताउँदै चेतावनी दिएका छन् कि यदि काम सुचारु नभएमा आन्दोलनको बाटो रोजिनेछ।















