१० भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत रुपमा चयन भएकी छन्। यद्यपि, सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा भने भोलि समितिको बैठकले गर्नेछ।
समितिका तत्कालीन सभापति रामहरि खतिवडाको राजीनामापछि रिक्त रहेको पदका लागि आज उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो। सो समयमा न्यौपाने एकल उम्मेदवारको रूपमा अघि आउँदा उनी सर्वसम्मत सभापतिका रूपमा चयन भएकी हुन्। प्रतिनिधि सभाका सचिव हर्कराज राईका अनुसार अन्य कुनै उम्मेदवारी नपरेपछि न्यौपाने निर्विरोध सभापतिमा चयन भएकी हुन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भोलि दिउँसो ३ बजे बस्नेछ, जसमा सभापतिमा न्यौपानेको चयनको औपचारिक घोषणा गरिने छ।
यसअघि ईश्वरीदेवी न्यौपाने संसदीय सुनुवाई समितिको सभापतिका रूपमा जिम्मेवारीमा थिइन्। तर, कांग्रेसले उनलाई राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय गरेपछि उनले आजै सभामुख समक्ष राजीनामा दिएकी थिइन्। राजीनामा दिएलगत्तै उनले नयाँ समितिको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी थिइन्।
न्यौपानेको सर्वसम्मत चयनले आगामी दिनमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।















