१० भदौ,वीरगञ्ज । हैजाको संक्रमण फैलिन सक्ने जोखिम उच्च भइरहेका बेला वीरगन्ज महानगरपालिकाले होटल र मासु पसलहरूमा व्यापक अनुगमन सुरु गरेको छ। मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी टंकी, बसपार्क र नगवा क्षेत्रका होटल तथा मासु पसलमा पुगेर सरसफाइ, खाद्य सामग्रीको भण्डारण र खानेपानीको अवस्था जाँच गरेको हो।
अनुगमनका क्रममा होटल र पसलभित्रको स्वच्छता, फ्रिजमा राखिएका मासु, माछा, अण्डा लगायतका खाद्य सामग्रीहरूको अवस्था तथा खानेपानीको स्रोतको स्वच्छता परीक्षण गरिएको महानगरले जनाएको छ।
मेयर राजेशमान सिंहको निर्देशनमा पशु सेवा शाखा, वातावरण शाखा र महानगर प्रहरी बलसहितको टोली परिचालन गरिएको हो। मेयर सिंहले हैजा जस्ता संक्रमणजन्य रोग रोक्न व्यवसायीहरू स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै अनुगमन कार्यलाई दैनिक कार्यसूचीका रूपमा अघि बढाइने बताएका छन्।
“होटल तथा मासु पसलहरूमा स्वच्छता कायम भए मात्र हैजासहितका संक्रमणजन्य रोग नियन्त्रण गर्न सकिन्छ,” मेयर सिंहले भने।
महानगरले हैजा नियन्त्रणका लागि अन्य उपायहरू पनि अघि सारेको छ। जनचेतना कार्यक्रम, दूषित पानीको परीक्षण, संक्रमित क्षेत्रको सरसफाइ तथा स्वास्थ्यकर्मीमार्फत घरदैलो अभियानलाई समेत सक्रिय बनाइएको छ।
साथै, स्थानीयवासीलाई पानी उमालेर पिउन, सफा खाना मात्र सेवन गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ। वीरगन्जमा फैलँदै गएको हैजाको जोखिमलाई समयमै नियन्त्रण गर्न महानगरले देखाएको सक्रियता स्वास्थ्य सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिएको छ।

















