Logo

११ भदौ, काठमाडौँ । भारतले सतलज नदीमा अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम बढेको छ । जोखिम बढेसँगै पाकिस्तानले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने कार्य तीव्र बनाएको छ ।

भारतले सीमापार बाढीको सम्भावनाबारे पाकिस्तानलाई अघिल्लो दिन नै सचेत गराएको थियो । पछिल्लो द्वन्द्वपश्चात् दुई देशबीच भएको यो पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क भएको बताइएको छ । विशेष कुरा के भने, भारतले यसपटकको सूचना सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धि अन्तर्गतको संयन्त्रमार्फत नभई प्रत्यक्ष कूटनीतिक माध्यम प्रयोग गरेर पठाएको हो ।

उद्धारकर्ताहरूले हालसम्म कसुर जिल्लाबाट १४ हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा पुर्‍याएका छन् । भारतीय सीमा नजिकको बहावलनगर सहरबाट पनि ८९ हजारभन्दा बढी बासिन्दा विस्थापित भई सुरक्षित क्षेत्रमा पुगेका छन् ।

अत्यधिक वर्षा जारी रहँदा पाकिस्तान पहिले नै तीव्र बाढीको सामना गरिरहेको बेला सतलज नदीमा आएको सीमापार जोखिम थप चुनौती बनेको हो ।

पाकिस्तानमा जून २६ यता सुरु भएको मनसुनी वर्षाबाट हालसम्म ८०० जनाभन्दा बढीको ज्यान गइसकेको छ । जुलाईदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनी मौसम अझै जारी रहँदा थप क्षतिको आशंका गरिएको छ । विज्ञ र मौसमविद्हरूका अनुसार, यस क्षेत्रमा भइरहेको लगातारको अत्यधिक वर्षा जलवायु परिवर्तनकै परिणाम हो ।


सम्बन्धित समाचार