११ भदौ, वीरगञ्ज । पर्साको वीरगञ्जमा हैजाको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म ११४ जनामा हैजा पुष्टि भएको छ ।
हाल वीरगञ्जका विभिन्न अस्पतालमा १ सय ९९ जना बिरामीको उपचार भइरहेको छ । तीमध्ये झाडापखालाका गम्भीर लक्षणसहित हैजा पुष्टि भएका बिरामी पनि रहेका छन् । अहिलेसम्म उपचारपछि २ सय २३ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार वीरगञ्जका अस्पतालमा उपचारका लागि पुगेका झाडापखालाका बिरामीको संख्या ४२२ पुगेको छ ।
हैजा फैलिनुको मुख्य कारण दूषित खानेपानी हुनसक्ने आशङ्कामा वीरगञ्ज महानगरले पानीको नमुना संकलन गरी परीक्षणको प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका १० नमुनामध्ये ८ मा हैजा पुष्टि भएको छ भने बाँकी दुई नमुनाको रिपोर्ट आउन बाँकी छ ।
हैजा तीव्र रूपमा फैलिएपछि वीरगञ्ज महानगरले मातहतका सबै विद्यालयलाई आजबाट थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।
महानगर र स्वास्थ्य निकायले संयुक्त रूपमा सरसफाइ र सचेतनामूलक अभियान चलाइरहेका छन् । चिकित्सकहरूले स्थानीयलाई पानी उमालेर मात्रै पिउन, खुला शौच नगर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेका छन् ।















