११ भदौ,काठमाडौं । जम्मू–कश्मीरको कठुआ क्षेत्रमा लगातारको वर्षा र पहिरोका कारण आएको बाढीमा फसेका २२ जना सैनिक (सीआरपीएफ जवान) र ३ सर्वसाधारणलाई सकुशल उद्धार गरिएको छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार बाढीले सीआरपीएफ क्याम्पमा क्षति पु¥याएपछि उनीहरू अलपत्र परेका थिए।
एक जना सेना अधिकारीले पीटीआईसँग भने, “राति पानीको सतह ह्वात्तै बढेको खबर आयो। बाढीले पुलको एक भाग बगाएको थियो र क्याम्प वरपरको क्षेत्र जलमग्न भएको थियो। त्यसपछि एसडीआरएफ, एनडीआरएफ र सेनाले संयुक्त रूपमा उद्धार कार्य सुरु गरेका थियौं।”
उद्धार कार्य बिहान उज्यालो भएपछि तीव्र रूपमा अघि बढाइएको थियो। सेनाको हेलिकप्टरमार्फत २२ जना सीआरपीएफ जवान, एक कुकुर र ३ सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सेना अधिकारीका अनुसार सबै सकुशल छन् र ज्यानको कुनै क्षति भएको छैन।
यसैबीच, जम्मू क्षेत्रमा भारी वर्षा र पहिरोका कारण हालसम्म ८ जनाको ज्यान गएको पुष्टि भएको छ। प्रसिद्ध धार्मिक स्थल वैष्णोदेवीको यात्रा पनि अस्थायी रूपमा रोकिएको छ।
जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले बाढी र पहिरोबाट सिर्जित परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।
क्षेत्रमा अझैपनि मौसम प्रतिकूल रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आह्वान गरेको छ।

















