११ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले हैजा, झाडापखाला, र अन्य पानीजन्य रोगको जोखिम कम गर्नका लागि घर–घरमा सचेतना अभियान सुरु गरेको छ। स्वास्थ्यकर्मीको टोलीले पाँच दिनदेखि विभिन्न वडाका स्थानीय बासिन्दालाई स्वास्थ्यसम्बन्धी महत्वपूर्ण जानकारी दिँदै आएको छ।
महानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख राजु प्रसाद साहका अनुसार, खानेपानी, व्यक्तिगत सरसफाइ, र खानपिनमा ध्यान दिन यो अभियान चलाइएको हो। स्वास्थ्यकर्मीले हरेक घरमा पुगेर पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन, शौचालय र धाराको दूरी कायम गर्न, नियमित हात धुन, र घर वरिपरिको सरसफाइमा ध्यान दिन सुझाव दिइरहेका छन्।
पछिल्लो समय अस्पतालहरूमा झाडापखाला र हैजाका बिरामी बढ्न थालेपछि महानगरपालिकाले यो अभियानलाई प्राथमिकता दिएको हो। वडास्तरमा खटाइएका टोलीले बिहान–बेलुका टोलटोलमा पम्प्लेट वितरण गरी प्रत्यक्ष संवाद गरिरहेका छन् र सरसफाइको अवस्थाबारे जानकारी लिइरहेका छन्।
जनस्वास्थ्य शाखा प्रमुख साहले सुरक्षित पानी र सरसफाइ नै हैजा नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय रहेको बताए। उनले भने, ‘थोरै पनि लापरबाही गर्दा ठूलो सङ्क्रमण फैलिन सक्छ, त्यसैले सबै नगरवासीले सावधानी अपनाउनुपर्छ।’
महानगरपालिकाले भविष्यमा स्वास्थ्य संस्था, विद्यालय, र समुदायसँगको सहकार्यमा यस्ता सचेतनामूलक कार्यक्रमलाई अझ विस्तार गर्ने योजना बनाएको छ।

















