Logo

१२ भदौ,वीरगञ्ज । झाडापखाला तथा हैजाको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको समयमा वीरगञ्ज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गराएको पानी परीक्षणमा हैजा फैलाउने इ.कोली जीवाणु नभएको पुष्टि भएको छ।

महानगरको प्रयोगशालामा वडा नम्बर १०, ११ र १२ का सात स्थानबाट सङ्कलन गरिएको धाराको पानीको नमुनामा गरिएको परीक्षणमा सबै प्रतिवेदन ‘नेगेटिभ’ आएको हो। तीन वटा बोरिङ र चार वटा खानेपानी संस्थानका धाराबाट लिइएका नमुनामा इ.कोली जीवाणु फेला नपरेको महानगरले जनाएको छ।

आफ्नै प्रयोगशालाबाट नियमित परीक्षण

सङ्क्रमण फैलिन थालेपछि महानगरले वडा नम्बर १, छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालाबाट परीक्षण थालेको हो। माइक्रोबायोलोजिस्ट अजय मण्डलको प्राविधिक नेतृत्वमा परीक्षण भइरहेको छ। युनिसेफको सहयोगमा कोलीफर्म परीक्षण पनि सुरु गरिएको छ र यसको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ।

जोखिममा रहेका क्षेत्रमा प्राथमिकता

महानगर प्रमुख राजेशमान सिंहका अनुसार, संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको छ। उनले भने, “नागरिकलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउन महानगरले आफ्नै प्रयोगशालाबाट परीक्षण सुरु गरेको हो।“

वातावरण निरीक्षक प्रकाश ऐरसहितको टोलीले शङ्कास्पद क्षेत्रहरूमा पुगेर धाराको पानी परीक्षणलाई तीव्रता दिएको छ। अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग भइरहेका धारालाई प्राथमिकतामा राखेर परीक्षण भइरेहको र आवश्यकताअनुसार अन्य शङ्कास्पद क्षेत्रबाट पनि नमुना सङ्कलन गरी परीक्षण गरिने महानगरले जनाएको छ।

यसअघि पनि नमुनामा जीवाणु फेला परेको थिएन

यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमुनामा पनि इ.कोली जीवाणु फेला नपरेको पुष्टि भइसकेको थियो। तर, स्थानीय तहले थप सुनिश्चितता र तत्कालीन प्रतिक्रिया प्रणालीलाई सुदृढ बनाउन परीक्षणलाई आफ्नो स्तरबाट निरन्तरता दिइरहेको छ।


सम्बन्धित समाचार