१३ भदौ, रौतहट । रौतहटको माधोपुरमा विद्यालयको प्रेमबाट सुरु भएको एक कथाको अन्त्य हत्या र आत्महत्याको त्रासदीपूर्ण घटनासँगै भएको छ। २८ वर्षकी रुबि साहको शव सुटकेसभित्र फेला परेको केही दिनपछि उनका प्रेमी ३० वर्षका लक्ष्मण पासवानको पनि उपचारका क्रममा मृत्यु भएपछि यो प्रेम कहानीले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ ।
घटनाको सुरुवात भदौ ७ गते साँझ रौतहटको गौरमा लक्ष्मणले लिएको डेराबाट भएको थियो। लामो समयपछि एकअर्काको जीवनमा फर्किएका रुबि र लक्ष्मणबीचको प्रेमले पुरानो घाउ बल्झाएको थियो। सोही साँझ, दुईजनाबीचको वादविवाद बढ्दै जाँदा उनीहरूले सँगै मर्नुबाहेक अर्को विकल्प नभएको निष्कर्ष निकाले। तर, को पहिला मर्ने भन्ने विषयमा भएको झगडाले उग्र रूप लियो र लक्ष्मणले आवेगमा रुबिको घाँटी अँठ्याएर हत्या गरे ।
रुबिको मृत्यु भएपछि लक्ष्मण अत्तालिए र सुटकेसमा उनको शव राखेर डिस्पोज गर्ने प्रयास गरे। तर, उनी सफल भएनन् र बरहवा पुल नजिकै सुटकेस फेला परेपछि यो रहस्य खुल्न पुग्यो। सामाजिक सञ्जाल र सञ्चार माध्यममा यो खबर फैलिएपछि प्रहरीले अनुसन्धान थाल्यो । प्रहरीले घटनास्थलको कोठामा रुबिको चप्पल फेला पारेपछि लक्ष्मणको खोजी सुरु गर्यो ।
यसैबीच, भदौ ११ गते माधवनारायण नगरपालिकाको एक धान खेतमा एक युवक जलिरहेको अवस्थामा फेला परे। प्रहरीले उद्धार गरी अस्पताल पुर्याउँदा ती युवक लक्ष्मण नै भएको खुल्यो। गम्भीर घाइते अवस्थामा अस्पतालमा रहेका लक्ष्मणको ९ मिनेटको एक भिडियो सामाजिक सञ्जालमा बाहिरियो, जसले घटनाको अर्को पाटो खुलाएको थियो ।
भिडियोमा लक्ष्मणले रुबिको आमालाई मुख्य दोषी ठहर्याउँदै पैसाको लालचमा रुबिलाई अरूसँग सम्बन्ध राख्न बाध्य पारिएको आरोप लगाएका थिए। उनले रुबिका देवरले समेत दबाब दिएको र आमाले गाडी र सुनको लोभमा रुबिमाथि अन्याय गरेको बताएका थिए। भावुक हुँदै उनले भनेका थिए, “हामी दुवै विवाहित थियौँ तर मनले एक अर्कालाई छाड्न सकेनौँ। म गरिब र दलित भएका कारण हाम्रो प्रेम कहिल्यै सफल भएन। रुबिबिना म एक्लै बाँच्न सक्दिनँ।”
लक्ष्मणको छातीमा रुबि र आफ्नै तस्बिरको ट्याटु थियो भने पाखुरामा ‘माईहर्टरुबि’ लेखिएको थियो । यसले उनको प्रेमको गहिराइ दर्शाएको थियो। उपचारका लागि काठमाडौँ पठाइएको भए पनि लक्ष्मणलाई बचाउन सकिएन ।
यो प्रेम कहानीको सुरुवात १४ वर्षअघि किशोरावस्थामा भएको थियो, जब लक्ष्मणले १४ वर्षकी रुबिलाई भगाएर विवाह गरेका थिए। त्यसबेला परिवारको विरोधका कारण लक्ष्मणले अपहरणको मुद्दा खेप्नुपरेको थियो। परिवारको दबाबमा दुवैको विवाह भए पनि मन भने जोडिएको थियो। समयसँगै परिवारको दबाब, जातीय विभेद, आर्थिक असमानता र समाजको दृष्टिकोणले उनीहरूको प्रेमलाई स्वीकार गर्न सकेन ।
अन्ततः रुबि र लक्ष्मणको प्रेमकथा सामाजिक, जातीय र आर्थिक विभेदले निम्त्याएको त्रासदीपूर्ण परिणति बनेर टुंगियो ।















