Logo

१३ भदौ, वीरगञ्ज । महिला पत्रकार नेतृत्वद्वारा सञ्चालित मध्य नेपाल मिडियाले आफ्नो १०औं वार्षिक उत्सव बिहिबार वीरगञ्जमा विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यता र मध्य नेपाल मिडियाकी सञ्चालिका कविता खडकाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सञ्चार क्षेत्रको योगदान, महिला पत्रकारिताको भूमिका र संस्थाको भावी योजनाबारे गहन छलफल भएको थियो।

कार्यक्रमका आयोजकले संस्थाको स्थापनाकालदेखि नै सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा निरन्तर क्रियाशील रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले समाजमा सूचना र जागरण फैलाउने प्रतिबद्धता व्यक्त गरे।

वार्षिकोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, सचिव अशोक तिवारी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपाल मधेस प्रदेशका अध्यक्ष लालबाबु शेख, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको उपस्थिति थियो।

सोही अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। उत्कृष्ट महिला पत्रकारिता सम्मानबाट नेपाल पत्रकार महासंघ, धनुषाकी निवर्तमान अध्यक्ष मनिका झालाई पुरस्कृत गरिएको छ। त्यसैगरी, मध्य नेपाललाई जवाफदेहिताका समाग्री लेखी सहयोग गरे बापत स्तम्भकार पत्रकार एवं नारायणी एफएमका कार्यकारी निर्देशक शिवनाथ यादव र पत्रकार महिला गीता भण्डारीलाई पनि सम्मान गरिएको थियो ।


सम्बन्धित समाचार