१३ भदौ, वीरगञ्ज। संघीय राजधानीमा वीरगञ्जमा सङ्कटकाल घोषणा गर्नुपर्ने चर्चा चलिरहे पनि वीरगञ्जका स्वास्थ्यकर्मीहरूले हैजाको प्रकोप नियन्त्रण उन्मुख रहेको बताएका छन्। हालसम्म झाडापखालाका कुल ७१२ बिरामीमध्ये १६२ जनामा मात्र हैजा पुष्टि भएको छ, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।
हैजा सङ्क्रमितमध्ये दुई जनाको मृगौला (किड्नी) मा समस्या देखिएकोले उनीहरूलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको नारायणी अस्पताल, वीरगञ्जले जनाएको छ। हैजाले पहिलो प्रहार नै मृगौलामा गर्ने भएकोले यी दुई जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
पछिल्लो तथ्याङ्क अनुसार, सङ्क्रमित बिरामीमध्ये सरकारी तथा निजी गरी १७ वटा स्वास्थ्य संस्थामा १९३ जनाको उपचार भइरहेको छ। तीमध्ये ३३ जना आईसीयू र ४ जना एचडीयूमा छन्। अहिलेसम्म ५०४ जना भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अहिले सबैभन्दा बढी नारायणी अस्पतालमा ६ जना आईसीयूमा सहित कुल ६३ जनाको उपचार भइरहेको छ। त्यसैगरी, २९ जनाको तराई अस्पतालमा उपचार भइरहेको छ, जहाँ ४ आईसीयू र २ एचडीयूमा उपचार भइरहेको छ।
यस्तै, नेसनल मेडिकल कलेज र प्रभु अस्पतालमा १०-१० जना, सर्वोत्तम अस्पतालमा ८, मंगलम प्याथोलोजीमा ४ र अन्य अस्पतालमा गरी १९३ जनाको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए।
पर्साको वीरगञ्ज महानगरपालिका बाहिर पोखरीया नगरपालिकामा १ जना र बाराको कलैयामा १ जना गरी दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। ती दुवै जना वीरगञ्जबाट सङ्क्रमित भएको नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले बताए।
पानीको स्रोतमा कहाँबाट हैजाको जीवाणु पुग्यो भन्ने पहिचान हुन नसके पनि खानेपानीका पाइपहरू ढलभित्रबाट वितरण गरिएकोले पाइपहरूको जोइन्टमा चुहावट हुँदा ढलको पानी मिसिएको हुन सक्ने चिकित्सकहरूको भनाइ छ। मधेशमा खानेपानीको अभाव देखिएपछि बोरिङमार्फत खानेपानी वितरण गरिएको छ। पछिल्लो चरणमा वितरण भएको क्षेत्रमध्ये केही टोलमा वितरण भएको पानीमा हैजा सङ्क्रमण मिसिएको हुन सक्ने विज्ञहरूको भनाइ छ।
हैजा सङ्क्रमणबाट वीरगञ्जमा २ जनाको मृत्यु भएको छ। उनीहरूको उपचारका लागि अस्पताल लैजानुअघि नै मृत्यु भएको नारायणी अस्पतालका फिजिसियन डा। नीरज सिंहले बताए। अस्पतालमा उपचारका लागि आएका बिरामीमा कसैको मृत्यु नभएको डा। सिंहको भनाइ थियो। वीरगञ्जमा देखिएको हैजा नियन्त्रणमा आएको छ, डा. सिंहले भने, ूउपचारार्थ भर्ना भएका भन्दा डिस्चार्ज हुनेको सङ्ख्या बढेको छ।ू
हैजा के हो र कसरी बच्ने ?
हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ। विज्ञका अनुसार झाडापखालाजस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ। उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्। हैजाको पहिलो स्रोत शौचालयबाट निस्केको फोहोर पानी वा तलाउ हुन्।
हैजाको जीवाणु सङ्क्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ। जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ।
विज्ञका अनुसार, केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुन सक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ। ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्न सक्छ।
हैजाका लक्षणहरू ?
लगातार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जानु।
अत्यधिक पातलो सेतो चौलानीजस्तो दिसा हुनु।
शरीरका मांसपेशी बाउँडिनु, बान्ता हुनु, थकाइ महसुस हुनु।
गम्भीर अवस्थामा आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा हुनु ९कडा जलवियोजनको लक्षण०।
पिसाब पहेँलो हुनु, कम मात्रामा हुनु, र मुटुको धड्कन अनियन्त्रित हुनु।
बच्ने उपाय :
शौचालयमा मात्रै दिसापिसाब गर्ने र शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने।
दिसा र पिसाबपछि राम्रोसँग मिचीमिची साबुन पानीले हात धुने।
खाना बनाउनुअघि साबुन पानीले हात धुने।
पानी सधैं उमालेर वा शुद्धीकरण गरेर खाने।
काँचै खाइने तरकारी तथा सलाद सफा पानीले धोइपखाली मात्र खाने।

















