१४ भदौ,काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको चीन भ्रमणका क्रममा लिपुलेक नाकासम्बन्धी विषयलाई चिनियाँ पक्षसँग उठाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको सफल चीन भ्रमणको कामना गर्दै मेयर शाहले नेपालको सार्वभौमिकतामाथि भएको अतिक्रमणबारे चीनलाई स्मरण गराउन अनुरोध गरेका हुन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, ’नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।’
भारत र चीनले नेपालको लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने सहमति गरेपछि नेपालमा त्यसको व्यापक विरोध हुँदै आएको छ। मेयर शाहले प्रधानमन्त्री ओलीमाथि पूर्ण विश्वास व्यक्त गर्दै यस विषयमा उनले सकारात्मक पहल गर्ने आशा राखेको पनि उल्लेख गरेका छन्।















