१४ भदौ, वीरगञ्ज । पर्साको बिरगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको स्काईलाईन ईन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ। बिहीबार बिरगञ्जको आदर्शनगरमा आयोजित एक कार्यक्रममा स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिजबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।
सम्झौतामा स्काईलाईन ईन्फ्राका तर्फबाट अध्यक्ष प्रतीक अग्रवाल तथा संस्थापकहरू राजेश अग्रवाल, सत्यनारायण क्याल, सुभाष अग्रवाल, विनोद श्रेष्ठ र सञ्चालकहरू आकृति अग्रवाल तथा अंकुर भंगर अग्रवालको उपस्थिति रहेको थियो। साथै, कम्पनीका प्रमुख वित्त अधिकृत सञ्जय रौनियार पनि कार्यक्रममा सहभागी थिए।
हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले सम्झौतामा हस्ताक्षर गरेका छन्। कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १० का अध्यक्ष सुशिल कुमार कानु, कम्पनीका लेखापरीक्षक सिद्धान्त झुन्झुन्वाला र कानूनी सल्लाहकार कमलमोहन पोखरेलको पनि उपस्थिति थियो।
स्काईलाईन ईन्फ्रा लिमिटेडले अन्तर्राष्ट्रिय होटल चेन ुसरोवर पोर्टिकोु को ब्राण्डमा बिरगञ्जमा चारतारे होटल सञ्चालन गर्दै आएको छ। उक्त होटलमा आधुनिक बैंक्वेट हल, अन्तर्राष्ट्रिय चेन रेष्टुरेण्ट, स्विमिङ पुल, स्पा, क्यासिनो तथा क्यूएफएक्स सिनेमा हल जस्ता उच्चस्तरीय सुविधाहरू उपलब्ध छन्। आईपीओ निष्काशनबाट प्राप्त हुने पूँजीलाई कम्पनीले आफ्नो व्यवसाय विस्तार र थप सुदृढीकरणमा परिचालन गर्ने अपेक्षा राखेको छ।
नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, मर्चेन्ट बैंकिङ क्षेत्रको एक अनुभवी संस्था हो। यसले विभिन्न कम्पनीहरूको आईपीओ, हकप्रद शेयर र ऋणपत्र निष्काशन तथा बिक्री व्यवस्थापनमा सफल अनुभव संगालेको छ। यस सम्झौतासँगै स्काईलाईन ईन्फ्राले पूँजी बजारमा प्रवेश गरी आफ्नो वित्तीय दायरा फराकिलो बनाउने बाटो तय गरेको छ।















