Logo

१४ भदौ,वीरगञ्ज । नेपाल र भारतबीचको सञ्चार सहकार्यलाई थप प्रगाढ र सुदृढ बनाउने उद्देश्यका साथ ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ आजदेखि वीरगञ्जमा सुरु भएको छ। दुई देशका सञ्चारकर्मीहरूबीच आपसी समझदारी र व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।

मिडिया फर बोर्डर हार्मोनी, नेपालको आयोजनामा वीरगञ्जस्थित भिष्वा होटलमा सुरु भएको कन्क्लेभको उद्घाटन समारोह संस्थाका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल र भारतका प्रतिष्ठित पत्रकार, सम्पादक, नीति निर्माता तथा सञ्चार क्षेत्रका विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अजय चौरासियाले नेपाल र भारतबीच सदियौंदेखि रहिआएको सांस्कृतिक, भाषिक र सामाजिक सम्बन्धलाई पत्रकारिताको माध्यमबाट अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले भने, “यस्ता सम्मेलनले दुई देशबीचको विश्वास र आपसी समझदारी अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छन्।“

उद्घाटन सत्रमा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झा, पूर्वराजदूत विजय कान्त कर्ण, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदीश शर्मा र नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले सीमा क्षेत्रका साझा सवालहरूलाई सम्बोधन गर्न र दुई देशका जनताबीचको सम्बन्धलाई अझ नजिक बनाउन मिडियाको भूमिका अपरिहार्य रहेको औंल्याए।

आयोजकका अनुसार, सम्मेलनमा नेपाल र भारतका ८० भन्दा बढी पत्रकार तथा सञ्चार विज्ञहरूको सहभागिता रहेको छ। यस कन्क्लेभले ‘नेपाल–भारत मिडिया नेटवर्क’ स्थापनाका लागि मार्ग प्रशस्त गर्ने र दुई देशका सञ्चारकर्मीबीच दीर्घकालीन सहकार्यलाई संस्थागत गर्ने विश्वास लिइएको छ। कन्क्लेभका क्रममा सीमा क्षेत्रका पत्रकारिताका चुनौती, अवसर र सहकार्यका सम्भावनाबारे विभिन्न सत्रमा छलफल हुने जनाइएको छ।


सम्बन्धित समाचार