१५ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा।डा। गोविन्द केसीले फेरि एकपटक सत्याग्रह सुरु गरेका छन् ।
निजी मेडिकल कलेजहरूको सिट वृद्धि लगायतका सरकारी निर्णयको विरोध गर्दै उनले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरबाट तीन दिने सत्याग्रह थालेका हुन् । डा. केसीका अनुसार, सरकार र चिकित्सा शिक्षा आयोगले लिएका पछिल्ला निर्णयहरूले शिक्षा र स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने काम गरिरहेका छन् । उनले भने, “निजी मेडिकल कलेजहरूको सिट बढाएर नेता र माफियाको खल्ती भर्न खोजिएको छ, जसले अन्ततः शिक्षाको गुणस्तर घटाउँछ र जनताको स्वास्थ्यमाथि खेलवाड गर्छ।”
डा. केसीले त्रिवि मेडिकल अध्ययन संस्थानजस्तो प्रतिष्ठित संस्थाले समेत १०० विद्यार्थी पढाउन हिचकिचाएको अवस्थामा पूर्वाधार र बिरामीको चाप नपुग्ने निजी कलेजलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण रहेको बताए ।
के–के छन् डा. केसीका माग ?
निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्न, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना गर्न, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्न र अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानहरू कार्यान्वयन गर्न केसीले माग राखेका छन् । डा. केसीको यो सत्याग्रहले सरकारलाई चिकित्सा शिक्षा क्षेत्रका गलत नीतिहरू सच्याउन थप दबाब दिने अपेक्षा गरिएको छ ।

















