१५ भदौ, काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न चाहने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आकांक्षीहरूले आज पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेका छन् ।
भेटमा लामिछानेले सबैलाई पार्टीले बनाएको प्रक्रिया (सिस्टम) अनुसार चल्न र जोसुकै उम्मेदवार बने पनि पूर्ण सहयोग गर्न आग्रह गरेका छन् । पार्टीले उम्मेदवार घोषणा गर्नुअघि ९ जना आकांक्षीहरू लामिछानेलाई भेट्न पुगेका थिए । प्रशासनले एकपटकमा दुई जनालाई मात्र भेट्ने अनुमति दिएपछि उनीहरूले सामूहिक रूपमा भेट्न पाएका थिएनन् ।
भेटपछि बाहिरिएका आकांक्षी पार्थिवेन्द्र उपाध्याय र सुलभ खरेलले लामिछानेको सन्देशबारे जानकारी दिँदै भने, ‘रविजीले भन्नुभयो, ‘तपाईंहरू सबैजना सक्षम हुनुहुन्छ। पार्टीले बनाएको छनोट प्रक्रियालाई मान्नुहोस् र जो उम्मेदवार बने पनि मिलेर काम गर्नुहोस्। यो उपनिर्वाचन मात्र होइन, २०८४ को चुनावसम्म पनि मिलेर जानुहोस्। त्यतिबेलासम्म सबैको व्यवस्थापन हुन्छ।
उम्मेदवारहरूले पनि पार्टीको निर्णयलाई स्वीकार गर्ने र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि नै उनीहरूले ९ जनामध्येबाट जो छनोट भए पनि बागी उम्मेदवार नबन्ने लिखित सहमति गरेका थिए। यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ।















