१५ भदौ, काठमाडौं । लामो समयदेखि रासायनिक मलको अभाव झेलिरहेका नेपाली किसानहरूका लागि राहतको खबर आएको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले अबको १० दिनभित्र भारतबाट युरिया मल आइपुग्ने र किसानले सहज रूपमा पाउने बताएका छन् । मन्त्री अधिकारीले कपिलवस्तुको चन्द्रौटामा आयोजित एक कार्यक्रममा बोल्दै कलकत्ताबाट आयात गरिएको मल एक हप्तादेखि दश दिनभित्र आइपुग्ने र त्यसपछि मलको अभाव नहुने विश्वास दिलाएका छन् । उनले मल वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउँदै वास्तविक किसानलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए ।
‘ठूलो भूभागमा खेती गर्ने किसानले मलको अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ,’ मन्त्री अधिकारीले भने। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। त्यसैगरी, जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि मल र बीउ जस्ता सामग्री वर्षाअघि नै किसानसम्म पुर्याउन योजना बनाउन सुझाव दिएका छन् ।
मन्त्रीको यो आश्वासनले किसानहरूलाई केही हदसम्म भए पनि राहत महसुस गराएको छ। अब हेर्न बाँकी छ, मन्त्रीको भनाइअनुसार तोकिएको समयमै मल किसानको खेतबारीसम्म पुग्छ कि पुग्दैन।















