१५ भदौ,वीरगञ्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले मधेश प्रदेशको बारा जिल्लामा विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा व्यस्त रहेकी छन्।
वीरगन्ज उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुन मधेश आएकी भण्डारी हाल कलैयामा रहेकी छन्। उनी आज बिहान बाराकै प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरको दर्शन गरेकी छन्। दर्शनका क्रममा उनलाई महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव र स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए।
पूर्वराष्ट्रपति भण्डारीसँगै रहेका नेता प्रकाश पौडेलका अनुसार उनी आज र भोलि गरी दुई दिनसम्म बारामै रहनेछिन्। यस अवधिमा उनले विभिन्न सामाजिक संघसंस्थाद्वारा आयोजना गरिएका कार्यक्रममा सहभागिता जनाउनुका साथै स्थानीय राजनीतिक नेता तथा कार्यकर्ताहरूसँग भेटघाटलाई पनि प्राथमिकता दिइरहेकी छन्।
गढीमाई मन्दिर दर्शनपछि भण्डारी मदन भण्डारी फाउण्डेसन, बाराले आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमणले मधेशमा राजनीतिक चासो र संवादको अवसर समेत सिर्जना गरेको स्थानीय विश्लेषकहरूले बताएका छन्।















