Logo

१५ भदौ,वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले बारा र पर्सा जिल्लाको शान्ति सुरक्षा सुदृढ पार्न, सीमापार अपराध नियन्त्रण गर्न तथा धार्मिक सहिष्णुता कायम राख्न सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएका छन्।

वीरगञ्जमा आज आयोजित एक विशेष कार्यक्रममा, गृहमन्त्री लेखकले दुवै जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका थिए। उनले पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार, राजस्व चुहावट, र धार्मिक गतिविधिको नाममा हुने सम्भावित असहिष्णुताबारे सतर्क रहन निर्देशन दिए।

गृहमन्त्री लेखकले विशेष रूपमा भारतीय नम्बर प्लेट भएका सवारीसाधनहरूलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षाकर्मीहरूलाई सचेत गराएका छन्। उनले चेकजाँचको नाममा मधेशका जिल्लाहरूमा भारतीय सवारीसाधनलाई दुःख दिएको गुनासो आइरहेको भन्दै संवेदनशील र व्यावहारिक रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्।

पर्साको जिल्ला प्रशासन कार्यालयमा आयोजित बैठकमा, गृहमन्त्रीले धार्मिक सहिष्णुता, सीमा अपराध नियन्त्रण, लागूऔषधको रोकथाम, तथा राजस्व चुहावट विरुद्ध शून्य सहनशीलता अपनाउन स्पष्ट रूपमा निर्देशन दिए।

त्यस्तै, उनले पछिल्लो समय बारा र पर्सामा देखिएको हैजा (कोलेरा) महामारी नियन्त्रणमा सुरक्षा संयन्त्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।

तीन दिनका लागि वीरगन्ज पुगेका गृहमन्त्री लेखकको भ्रमणमा कानुनमन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय र राजस्व विभागका प्रमुखहरू सहभागी थिए।
गृहमन्त्री सोमबारसम्म वीरगन्जमा रहने कार्यतालिका रहेको छ।


सम्बन्धित समाचार