Logo

१५ भदौ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।

आइतबार झापामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले सरकारको उपेक्षापूर्ण रवैया र सभामुख देवराज घिमिरेको निष्पक्षता अभावप्रति असन्तुष्टि जनाउँदै संसद् अवरुद्ध गर्ने रणनीति निरन्तर जारी राख्ने बताएका छन्।

उनले भने, “भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नै राजीनामा दिएर छानबिनमा सहजता ल्याउनुपर्छ। यदि त्यो नहुने हो भने पनि कम्तीमा उच्चस्तरीय छानबिन आयोग त गठन हुनु पर्ने हो।”
लिङदेनले दोषी ठहरिए मन्त्रीलाई कारबाही गरिनुपर्ने स्पष्ट पारे पनि, त्यसबारे सरकार र सभामुख उपेक्षात्मक ढंगले अघि बढिरहेको आरोप लगाए।

अध्यक्ष लिङदेनले राप्रपाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर सडक आन्दोलनमा जान पनि पछि नपर्ने चेतावनी दिएका छन्। “आवश्यक परे दुईवटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ,” उनले भने।

उनले पार्टीभित्र नयाँ नेताहरूलाई जिम्मेवारी बाँड्ने क्रममा केही गल्ती भएको स्वीकार्दै, तिनलाई सुधार गर्दै अघि बढ्न तयार रहेको स्पष्ट पारे।

भिजिट भिसा प्रकरणले तातेको राजनीतिक वातावरणमा राप्रपाको यो कडा चेतावनीले सत्तापक्षमाथि थप दबाब सिर्जना गरेको छ।


सम्बन्धित समाचार