Logo

१५ भदौ,वीरगञ्ज । सरकारले इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई देशव्यापी रूपमा विस्तार गर्ने क्रममा अब मधेश प्रदेशमा पनि यसको काम सुरु हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार, असोज १ गतेदेखि लहान, सिरहास्थित यातायात व्यवस्था कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु हुनेछ।

यो सेवा विस्तार भएपछि देशभरका कुल १६ कार्यालयहरूबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिनेछ। हालसम्म यो सेवा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका नौ वटा कार्यालयहरू (एकान्तकुना, हेटौंडा, गुर्जुधारा, टेकु, पोखरा, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र सुर्खेत) बाट मात्र उपलब्ध थियो।

थप ७ स्थानमा सेवा विस्तार विभागले असोज १ गतेदेखि सुदूरपश्चिमका धनगढी र कञ्चनपुर, मधेश प्रदेशको लहान, बागमतीको चितवन, र कोशी प्रदेशका इटहरी र बिर्तामोडमा पनि इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु गर्ने भएको छ।

डिजिटल प्रणाली र सुरक्षामा सहयोग सरकारले सवारीसाधनको दर्ता, नामसारी वा नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ। यसबाट सवारीसाधनको सबै विवरण डिजिटल प्रणालीमा आउनेछ, जसले व्यवस्थापन र सुरक्षामा सहयोग पुग्ने विश्वास लिइएको छ। इम्बोस्ड नम्बर प्लेटमा जडान गरिएको आरएफआईडी (RFID) चिपले सवारीसाधनको सहज ट्र्याकिङमा पनि सहयोग पुग्ने विभागले बताएको छ। यसका लागि देशका १० मुख्य प्रवेशद्वारमा आरएफआईडी गेट निर्माण गर्ने योजना अघि सारिएको छ, जसमध्ये काठमाडौँका दुई स्थानमा यस्ता गेटहरू निर्माण भइसकेका छन्।


सम्बन्धित समाचार