Logo

५ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको तियानजिन शहरमा भएको भेटवार्तामा दुवै नेताले चीन र भारतलाई प्रतिद्वन्द्वी होइन, सहयोगी साझेदार देशको रूपमा चित्रित गरेका छन्।

सांघाई सहयोग संगठन (SCO) को २०२५ को शिखर सम्मेलनअघि आइतबार र सोमबार भएको भेटमा सी जिनपिङले दुई देशबीचको पारस्परिक सहयोग र समझदारीले भविष्यमा अझ सकारात्मक मोड लिने विश्वास व्यक्त गरे।

सीले गत वर्ष मोदीसँग भएको भेटको स्मरण गर्दै, त्यसले दुई देशबीचको सम्बन्धमा नयाँ सुरुवात गरेको बताएका छन्।
उनले भने, “चीन र भारत प्राचीन सभ्यताको प्रतिनिधि, विश्वका सबैभन्दा ठूलो जनसंख्या भएका देश र ग्लोबल साउथका महत्वपूर्ण सदस्यहरू हुन्। हामीले एक–अर्कालाई प्रतिद्वन्द्वी नभई साझेदारको रूपमा हेर्नुपर्छ।”

चीन–भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सवको प्रसंग उठाउँदै, सीले दीर्घकालीन र रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई सम्हाल्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भेटका क्रममा भारत र चीनबीचको सम्बन्ध प्रतिद्वन्द्विता नभई सहकार्यमा आधारित हुनुपर्ने बताए।
उनले भने, “सहमति वा असहमति भन्दा माथि उठेर हामीले एक–अर्कामा विश्वास, सम्मान र संवेदनशीलताको आधारमा सम्बन्धलाई अगाडि बढाउनुपर्छ।”

मोदीले सीमा विवाद समाधान, कैलाश मानसरोवर यात्रा मार्ग पुनः खोल्ने र दुवै देशबीच प्रत्यक्ष उडान पुनः सुरु गर्ने विषयमा भएको प्रगतिलाई सकारात्मक संकेतका रूपमा उल्लेख गरे।

दुवै नेताहरूको यस भेटवार्ताले पछिल्लो समय तनावग्रस्त चीन–भारत सम्बन्धमा नयाँ सम्भावनाको ढोका खोल्ने संकेत गरेको विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै