१५ भदौ,हेटौँडा । यात्रुबाहक विद्युतीय सवारी (इभी) प्रयोग गरेर लागुऔषध गाँजा ओसारपसार हुने गरेको तथ्य खुलेको छ। मकवानपुर प्रहरीले आइतबार दुई वटा इभी गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गर्दै ६ जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, बा.प्र.०१–००२ ज ६५४९ नम्बरको इभीमा राखिएको १ सय १२ किलो ७९० ग्राम गाँजा मकवानपुरको बसामाडी लेवटमा बरामद गरिएको हो।
यस घटनामा संलग्न रहेको आरोपमा काभ्रेको पाँचखाल–८ का २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सविन तामाङ, र दोलखा शैलुङ–८ का २२ वर्षीय सागर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, आइतबारकै दिन प्रहरीले बसामाडीमै हेटौँडातर्फ आउँदै गरेको बाप्र.०६–००१ ज ०५०३ नम्बरको इभी गाडीमा राखिएको २६ किलो १० ग्राम गाँजा बरामद गरेको छ।
यससँगै, मकवानपुरको राक्सिराङ–१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दीप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तानलाई पनि पक्राउ गरिएको छ।
उनीहरूलाई पनि अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पछिल्लो समय इभी गाडीको प्रयोग गरेर लागुऔषध तस्करी हुने क्रम बढेको प्रहरीको भनाइ छ, जसले सवारी साधनको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।















