Logo

१५ भदौ, वीरगञ्ज। गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा पेस भएको शिक्षा विधेयकमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने व्यवस्था हटाइने बताएका छन्।

वीरगञ्जमा आइतबार निजी विद्यालयका सञ्चालकहरूले विधेयकमा रहेका केही प्रावधानप्रति असहमति जनाउँदै ध्यानाकर्षण गराएपछि गृहमन्त्री लेखकले सो कुराको जानकारी दिएका हुन्।

‘निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने भन्ने व्यवस्था छ, यसका बारेमा म प्रस्ट कुरा गर्न चाहन्छु, त्यो व्यवस्था हटाइन्छ,’ गृहमन्त्री लेखकले भने, ‘निजी क्षेत्रका विद्यालयलाई समाप्त गर्ने काम गरिँदैन।’

उनका अनुसार, यस विषयमा सरकारको कुनै द्विविधा नरहेको र मन्त्रिपरिषद्मा समेत छलफल भइसकेको छ। गृहमन्त्रीले सरकारी विद्यालयलाई पनि राम्रो बनाउँदै निस्शुल्क शिक्षा प्रदान गर्ने बताए।

सो क्रममा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, पर्सा जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, सचिव अशोक संग्रौला र एन(प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया लगायतका निजी विद्यालयका सञ्चालकहरूको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरूमाथि गम्भीर बन्न आग्रह गरेका थिए।


सम्बन्धित समाचार