Logo

१६ भदौ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आउँदो दशैंलाई लक्षित गर्दै सुकिला नोट सटही कार्यक्रम भदौ २९ गतेदेखि सुरू गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज सार्वजनिक सूचना जारी गर्दै उक्त कार्यक्रम असोज १० गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।

सर्वसाधारण तथा संघ–संस्थाले नेपाल राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, सातवटै प्रदेश कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट नोट सटही गर्न सक्नेछन्। साथै, इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि बैंकिङ समयभित्र सुकिला नोट लिन सकिनेछ।

राष्ट्र बैंकले दशैं–तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै प्रत्येक वर्ष सार्वजनिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट वितरण गर्ने परम्परा जारी राख्दै आएको छ। यस पटक पनि बैंकले सोही परम्परा अनुसार आमजनतालाई सहजतापूर्वक नोट सटही सेवा उपलब्ध गराउने जनाएको छ।


सम्बन्धित समाचार