Logo

१६ भदौ, काठमाडौं । नेपालले ग्लोबल पिस इन्डेक्स २०२५ मा आफूलाई पुनः एकपटक सुरक्षित देशका रूपमा प्रमाणित गर्दै चार स्थानको सुधार गरेको छ।

अघिल्लो वर्ष ८० औँ स्थानमा रहेको नेपाल यस वर्ष ७६ औँ स्थानमा उक्लिएको हो । यसले विश्वव्यापी रूपमा शान्ति र सुरक्षाको दिशामा नेपालले गरिरहेको प्रगतिलाई देखाउँछ।

विश्वकै शान्तिपूर्ण देश आइसल्यान्ड

ग्लोबल पिस इन्डेक्समा आइसल्यान्डले लगातार १६ औँ वर्ष पनि विश्वको सबैभन्दा शान्तिपूर्ण देशको उपाधि कायम राखेको छ। सन् २००८ देखि निरन्तर शीर्ष स्थानमा रहेको आइसल्यान्डले यो सूचीमा आफ्नो बलियो पकड देखाएको छ। यस वर्षको सूचीमा विश्वका ९९ दशमलव ७ प्रतिशत जनसंख्यालाई समेट्दै १६३ स्वतन्त्र देश र क्षेत्रहरू समावेश गरिएको छ । यस वर्षको ग्लोबल पिस इन्डेक्सको शीर्ष १० मा आइसल्यान्डपछि क्रमशः आयरल्यान्ड, न्युजिल्यान्ड, फिनल्यान्ड, अस्ट्रिया, स्विट्जरल्यान्ड, सिंगापुर, पोर्चुगल, डेनमार्क र स्लोभेनिया रहेका छन् । समग्रमा, युरोपेली महाद्वीप विश्वको सबैभन्दा शान्तिपूर्ण क्षेत्रका रूपमा रहेको छ ।

अर्कोतर्फ, ग्लोबल पिस इन्डेक्सको पुछारमा रहेका देशहरूमा रुस, युक्रेन, सुडान, कंगो र यमन छन्। यी देशहरूमा चलिरहेको द्वन्द्व र अशान्तिका कारण शान्ति सूचकांकमा ठूलो गिरावट आएको छ । यसबाहेक, बंगलादेश र पाकिस्तानमा पनि नागरिक अशान्ति र दमनका कारण सूचीमा गिरावट आएको छ ।

विश्वमा द्वन्द्वको संख्या दोस्रो विश्वयुद्धपछिको सबैभन्दा उच्च स्तरमा पुगेको बेला नेपालको शान्ति सूचकांकमा सुधार आउनु सकारात्मक उपलब्धि हो । यसले नेपालको आन्तरिक स्थिरता र शान्ति व्यवस्थाको प्रगतिको संकेत गर्दछ ।

 


सम्बन्धित समाचार