Logo

१६ भदौ,वीरगञ्ज । हालसालै वीरगञ्जमा हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज उपशाखाले वडा नं. १५ मा हैजा रोकथामका लागि विशेष स्वास्थ्य किट वितरण गरेको छ।

वितरित किटमा जीवनजल (इच्क्), साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेटहरू समावेश गरिएको छ। यी सामग्रीहरू हैजाको उपचार र रोकथाम दुवैमा उपयोगी हुने जनाइएको छ।

किट वितरण कार्यक्रमका प्रमुख उमेश मिश्रका अनुसार किट मात्र नभई स्थानीय बासिन्दालाई हैजा रोगबारे सचेतना दिने उद्देश्यले व्यापक अभियान समेत सञ्चालन गरिएको हो।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले हात धुने सही तरिका, स्वच्छ पानीको प्रयोग, पानी उमालेर मात्र पिउने, खानेकुराको सरसफाइ र सरसफाइसम्बन्धी व्यवहारमा ध्यान दिनुपर्ने विषयमा प्रायोगिक जानकारी दिएका थिए।

स्वच्छता नै हैजा नियन्त्रणको मुख्य उपाय

नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका स–कोषाध्यक्ष अभिलाष कुमार गुप्ताले हैजा नियन्त्रणको मुख्य उपाय सरसफाइ र स्वच्छ पानी भएको उल्लेख गर्दै भने, “हामीले वितरण गरेका यी सामग्रीहरूले घरपरिवारलाई प्राथमिक तहमा सुरक्षित राख्न सहयोग पुग्नेछ।”

वडा नं. १५ का स्थानीयवासी विकास साहले समयमै रेडक्रसबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै भने, “हामी हैजाको डरले त्रसित थियौं। तर, रेडक्रसको पहलले अहिले केही राहत महसुस भएको छ।”

तीन वडामा कार्यक्रम विस्तार हुँदै

स्वास्थ्य कार्यालय पर्साले वीरगञ्जका विभिन्न बस्तीमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिन थालेको जनाउँदै स्थानीयलाई उच्च सतर्क रहन अपिल गरेको छ। चिकित्सकहरूले दूषित पानी सेवन नगर्न, खुला स्थानमा दिसा नगर्न र साबुनपानीले हात धुन नियमित अभ्यास गर्न सुझाव दिएका छन्।

नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखा सदस्य एवं कार्यक्रम संयोजक दयाशंकर सिंहका अनुसार वडा नं. १४, १५ र १६ मा हैजा जोखिम उच्च रहेकाले त्यहाँ पनि यस्तै कार्यक्रम क्रमिक रूपमा विस्तार गरिँदैछ।

उनले भने, “तीन वडामा किट वितरणका साथै प्रभावित घरहरूको डाटा संकलनको जिम्मेवारी नेपाल रेडक्रस वीरगञ्ज शाखालाई दिइएको छ।”

यस कार्यक्रमले वीरगञ्जमा हैजा नियन्त्रणका लागि समुदायस्तरमै सजगता र तयारी बढाएको रेडक्रसले जनाएको छ।


सम्बन्धित समाचार