१६ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकको केही प्रावधानको विरोधमा निजी विद्यालय सञ्चालकहरूले आज उपत्यकाको चक्रपथमा बस र्याली निकालेका छन् ।
विभिन्न संस्था, जस्तै प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएको आह्वानमा स्कुलका बसहरूमा कालो झन्डा र ब्यानर राखेर विरोध प्रदर्शन गरिएको हो । निजी विद्यालय सञ्चालकहरूले विधेयकमा रहेका केही व्यवस्थाले आफूहरूलाई मर्का परेको दाबी गर्दै ती प्रावधानहरू हटाउन माग गरेका छन् । उनीहरुले कम्पनी ऐनअन्तर्गत सञ्चालित विद्यालयहरूलाई गैर–नाफामूलक बनाउने प्रावधान हटाउनु पर्ने, विद्यालयहरूले पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, विद्यार्थीलाई पोसाक, पाठ्यपुस्तक, यातायात र खाजा जस्ता सुविधामा पूर्ण छात्रवृत्ति दिने नीति खारेज गर्नुपर्न लगायतको माग राखेका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको विधेयकलाई अब संसद्बाट नै पास गर्ने तयारी भइरहेको छ । निजी विद्यालय सञ्चालकहरूले भने आफ्ना मागहरू भदौ १८ गतेभित्र पूरा नभए अनिश्चितकालका लागि स्कुल बन्द गर्ने चेतावनी दिएका छन् ।















