Logo

१६ भदौ,वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न सञ्चारमाध्यमको भूमिका निर्णायक हुने बताएका छन्।

प्रेस युनियन पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले समाजमा कहिलेकाहीँ देखिने धार्मिक तनावलाई न्यूनीकरण गर्न सञ्चारकर्मीहरूले सन्तुलित, तथ्यमा आधारित र सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।

उनले भने, “नेपाली समाजको विविधता हाम्रो बलियो पक्ष हो। यदाकदा धार्मिक द्वन्द्व फैलाउने प्रयास हुन्छन्, तर त्यसलाई विस्तार हुन नदिन सञ्चारमाध्यमले गम्भीर पहल गर्नु पर्छ।”

गृहमन्त्री लेखकले सबै धर्म, भाषा र समुदायका मानिसहरूले आपसी सहिष्णुता र समझदारीका साथ अघि बढ्नुपर्नेमा बल दिँदै सञ्चारजगतलाई सामाजिक एकता प्रवर्द्धन गर्न आग्रह गरे।

त्यसैगरी, मन्त्री लेखकले मुलुकमा फैलिएको अवैध कारोबार र सीमा क्षेत्रमा भइरहेको गैरकानुनी गतिविधिलाई रोक्न प्रहरी र भन्सार प्रशासनबीच समन्वय आवश्यक रहेको बताए।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा व्यक्त गरेको राष्ट्रिय हितको विषयमा आपत्ति स्वाभाविक र आवश्यक रहेको बताए। उनले यसले भारतसँगको सम्बन्धमा असर नपर्ने स्पष्ट पारे।

कार्यक्रममा वीरगन्जमा फैलिएको हैजाबारे पनि बोल्दै गृहमन्त्री लेखकले सरकार हैजा नियन्त्रणका लागि औषधि, चिकित्सक तथा स्वास्थ्यकर्मी, र अन्य आवश्यक स्रोत साधन पठाउने तयारीमा रहेको जानकारी दिए।


सम्बन्धित समाचार