१७ भदौ, काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी प्रतिवेदन’ सभामुखसमक्ष पेस गर्ने कार्यसूची छ। यसअघि सोमबार पनि सो विधेयक पेस गर्ने कार्यसूची तय भए पनि समितिमा छलफल नसकिएकाले स्थगित भएको थियो।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसैबीच, आजै दुई संसदीय समितिको बैठक पनि बस्दैछन् । राज्यव्यवस्था तथा सुशासन समितिले हालसम्मको काम कारबाहीको समीक्षा गर्नेछ। त्यस्तै विधायन व्यवस्थापन समितिले ‘संघीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’माथि विस्तृत छलफल गर्नेछ।
संघीय निजामती सेवा विधेयकलाई संघीयता कार्यान्वयनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील विधेयक मानिँदै आएको छ।















