Logo

१७ भदौ,काठमाडौं । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन्। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार राति ११ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु नंगरहार प्रान्तको जालालाबादबाट करिब २७ किलोमिटर टाढा र ८ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको परिमाण ६.१ म्याग्निच्युड मापन गरिएको छ।

अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ताले सबैभन्दा बढी क्षति कुनार प्रान्तका नुर्गल, सुकी, वाटापुर र चापा दारा जिल्लामा भएको जनाएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार, धेरै गाउँहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

वादिर गाजीअबाद गाउँका एक बासिन्दा जद्रानले सीजीटीएनसँग कुरा गर्दै भने, “हामीले करिब २०० घाइतेलाई हेलिकोप्टरमार्फत जालालाबादको अस्पताल पु¥याएका छौं। अझै पनि ३०० देखि ३५० जना भग्नावशेषमुनि फसेका छन्।” उनले आफ्ना गाउँका सबै घर ध्वस्त भएको पनि बताए।

स्थानीय भौगोलिक कठिनाइका कारण उद्धार कार्यमा चुनौती आइरहे पनि उद्धार टोली र राहत संस्थाहरूले काम तीव्र बनाएका छन्। अफगान अधिकारीहरूले प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन्।

भूकम्पपीडितहरूले अन्तर्राष्ट्रिय सहयोगको माग गरेका छन्। जद्रानले भने, “हाम्रो सरकारका अधिकारीहरू तुरुन्तै सहयोगका लागि आएका छन्, तर हामी अन्तर्राष्ट्रिय समुदायलाई अझै सहयोगका लागि आग्रह गर्छौं।”

वादिर गाजीअबादका अर्का पीडित मोहम्मद इब्राहिमले भने, “मेरो परिवारका २५ जना सदस्य भूकम्पमा मारिए। अझै पनि केही भग्नावशेषमुनि छन्। म अन्तर्राष्ट्रिय समुदायसँग मद्दतको अपिल गर्दछु।”

अफगानिस्तानको पहाडी भूगोल र पूर्वाधारको अभावका कारण राहत तथा उद्धार कार्य अझै कठिन भइरहेको छ। तर सम्बन्धित निकायहरू र अन्तर्राष्ट्रिय संस्थाहरूको सक्रियता बढ्दै गएको छ।

 


सम्बन्धित समाचार
भर्खरै