Logo

१७ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दलित विद्यार्थीहरूका लागि छात्रावास निर्माण गर्ने घोषणा गरेका छन्। नेपाल पासवान संघ पर्साले आयोजना गरेको बृहत पासवान भेलालाई सम्बोधन गर्दै मेयर सिंहले वीरगन्जमा अध्ययनरत दलित विद्यार्थीहरूको आवासीय समस्या समाधान गर्न महानगरपालिकाले यो वर्षभित्रै छात्रावास निर्माण सुरु गर्ने जानकारी दिए।

“दलित विद्यार्थीहरूको शैक्षिक यात्रामा सहजता ल्याउन छात्रावास आवश्यक भएको महसुस गरेका छौं,” मेयर सिंहले भने।

उनले दलित समुदायको समग्र विकासका लागि पहल गरिने प्रतिबद्धता जनाउँदै, दलितहरूको पछौटेपनको कारण केही हदसम्म दलित स्वयं र उनीहरूका अगुवाहरू पनि भएको टिप्पणी गरे। “कानूनले दिएको अधिकारका सवालमा दलित अगुवाहरूले नै बोल्न नसक्नु र अवसरवादी भूमिका मात्रै लिन खोज्नु कमजोरी हो,” उनले थपे।

नेपाल–भारत पासवान समुदायबीच सम्बन्ध मजबुत पार्न जोड

उक्त भेलामा भारतको अल इन्डिया पासवान एकता मञ्चका अध्यक्ष निरञ्जन पासवानले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता झैँ दुई देशका पासवान समुदायबीचको सम्बन्धलाई पनि मजबुत पार्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल पासवान संघ पर्साका अध्यक्ष प्रभु पासवानको अध्यक्षता रहेको थियो। कार्यक्रममा मञ्चका महासचिव डा. वीरेन्द्र पासवान, चौहरमल राष्ट्रिय परिषद मुकामका अध्यक्ष राजकुमार पासवान, धर्मेन्द्र पासवान, नेपाल पासवान संघ बाराका अध्यक्ष राजदेव पासवान, दलित संघर्ष समिति बाराका अध्यक्ष शिवदयाल पासवान, रौतहटका मटुक पासवान, नरेन्द्र पासवान तथा कलाकार प्रीति पासवानलगायतले मन्तव्य व्यक्त गरेका थिए।

भेलामा दलित समुदायको सशक्तिकरण, समान अवसर तथा सामाजिक समावेशीताका विषयमा व्यापक छलफल भएको थियो।


सम्बन्धित समाचार