१७ भदौ, काठमाडौं । निर्वाचन आयोगले मनाङको रिक्त प्रदेश सभा सदस्य पदका लागि हुने उपनिर्वाचनको तयारी अघि बढाएको छ । यसका लागि आयोगले भदौ १९ देखि २५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ।
किन हुँदैछ उपनिर्वाचन?
मनाङ क्षेत्र नम्बर १ (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि उक्त पद रिक्त भएको थियो। सोही रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
दल दर्ताका लागि आवश्यक प्रक्रिया र कागजात
उपनिर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूले कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा कार्यालय समयभित्र निवेदन दिनुपर्नेछ। आयोगले दल दर्ताका लागि केही महत्त्वपूर्ण कागजात र विवरणहरू अनिवार्य गरेको छ। आयोगले नयाँ बनेका वा गाभिएका दलका हकमा आर्थिक वर्ष २०८०८१ को लेखा परीक्षण प्रतिवेदनमा साविक दलहरूको विवरण पनि समावेश गर्नुपर्ने स्पष्ट पारेको छ। थप जानकारीका लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिने पनि आयोगले जनाएको छ।















