१७ भदौ, काठमाडौं । नेपालको अर्थतन्त्रमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच अर्थ मन्त्रालयमा भएको भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त भएको हो ।
अर्थतन्त्रमा सुधार, नीतिगत सुधारमा जोड
भेटमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्रका सूचकहरूमा गत वर्षको तुलनामा उल्लेख्य सुधार आएको जानकारी गराए । उनले नेपालले नीतिगत र संरचनागत सुधारमा जोड दिएको बताउँदै विश्व बैंकले आगामी ६ वर्षका लागि तयार गरेको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ नेपालको विकास आवश्यकतासँग मेल खाएको उल्लेख गरे ।
पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी दिँदै यो विधेयक पारित भएपछि निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने योजना सुनाए। यसका लागि उनले विश्व बैंकबाट सहयोगको अपेक्षा पनि व्यक्त गरे।
विश्व बैंकको प्रतिबद्धता र सुझाव
विश्व बैंकका उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरूमा सुधार आउनु सकारात्मक भएको बताए। उनले नेपालमा लगानी अझ बढाउन आवश्यक रहेकोमा जोड दिँदै उच्च आर्थिक वृद्धिदरका लागि विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपाध्यक्ष जुटले नेपालमा विशेषगरी लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिमा सहयोग गरिने बताए। उनले निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने सुझाव दिँदै वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानुनले निजी लगानी आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले नेपाललाई लगानी र उत्पादकत्व वृद्धिमा ध्यान केन्द्रित गर्न पनि सुझाव दिएका छन्।















