Logo

१७ भदौ,काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विशेष रेल चढेर चीन पुगेका छन्। उनी सोमबार राजधानी प्योङयाङबाट चीन प्रस्थान गरी मंगलबार बिहान सीमाना पार गरेका हुन्। किम चीनमा आयोजित दोस्रो विश्वयुद्धमा जापानको हारको अवसरमा आयोजना हुने सैन्य परेडमा सहभागी हुन गएका हुन्।

यो परेडलाई ८८उत्तर कोरियाली अखबार ’रोडोङ सिन्मुन’८८ले किमले सहभागी हुने अहिलेसम्मकै सबैभन्दा ठूलो बहुपक्षीय कूटनीतिक समारोह भनेको छ।

ओली, पुटिनसहित २६ मुलुकका प्रतिनिधि सहभागी
यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित २६ देशका उच्च प्रतिनिधिहरू सहभागी हुँदैछन्।

किमको रेल यात्रा : सुरक्षा र विलासिताको अनौठो मिश्रण

किम जोङ उन रेलबाटै अन्तर्राष्ट्रिय भ्रमण गर्ने गरेका छन्। उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि भियतनाम यात्रा गर्दा पनि यस्तै विशेष रेल चढेका थिए।
यो रेल गोली, बम र आक्रमणबाट सुरक्षित रहने गरी विशेष संरचना प्रयोग गरी निर्माण गरिएको हो। दक्षिण कोरियाली एकीकरण मन्त्रालयका अनुसार रेलमा आपतकालीन अवस्थाका लागि हेलिकोप्टरदेखि आक्रामक हतियारसम्मको व्यवस्था हुन्छ।

रेलभित्र किमका लागि विशेष कार्यालय बनाइएको छ । रेलभित्र शयनकक्ष, शौचालय, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि बेग्लै डिब्बाहरुको व्यवस्था गरिएको छ ।
कोरियाली, रुसी, चिनियाँ, फ्रेन्च तथा जापानी परिकारको व्यवस्था समेत रहेको बताइएको छ।

रेलमा अत्यधिक सुरक्षा बन्दोबस्त तथा भारी संरचना भएका कारण यसले अधिकतम ५० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्छ – जुन अन्य रेलको तुलनामा निकै सुस्त हो।

‘रोडोङ सिन्मुन’ले सार्वजनिक गरेको तस्बिरमा किम जोङ उन विदेशमन्त्री चोए सोन हुईसँग विशेष रेलमा बसिरहेको देखिन्छ। पछाडि उत्तर कोरियाको झण्डा छ, टेबलमा बन्द ल्यापटप र अर्को तस्बिरमा हातमा चुरोट देखिन्छ।
किमका पिता किम जोङ इल पनि उड्न डराउँथे र रेलमै विदेश यात्रा गर्थे। यही परम्परालाई उनले पनि निरन्तरता दिएका हुन्।


सम्बन्धित समाचार
भर्खरै