१७ भदौ,वीरगञ्ज । पछिल्ला केही वर्षयता बारामा सिँचाइका लागि कृषि मोटरको प्रयोग बढ्दै गएको छ। तर, सावधानी नअपनाउँदा यो सुविधा ज्यानमारा बन्दै गएको छ। पछिल्लो चार दिनको अवधिमा मात्रै करेन्ट लागेर दुई महिलासहित तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गत शुक्रबार करेन्ट लागेर सिम्रौनगढ नगरपालिका–७, झवानी टोलकी ४५ वर्षीया कैलसिया देवी रामको मृत्यु भएको थियो। खेतमा काम गरिरहेका बेला बिग्रिएको विद्युतीय तारबाट करेन्ट चुहावट भएर उहाँको घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै, बिहीबार सिम्रौनगढ नगरपालिका–२, अमृतगञ्जका ६५ वर्षीय रामेशवर महतो कुशवाहाको पनि करेन्ट लागेर मृत्यु भएको थियो।
यसैगरी, आइतबार दिउँसो घाँस काट्ने क्रममा करेन्ट लागेर सिम्रौनगढ नगरपालिका–९, कचोर्वाकी ५० वर्षीया अनिता देवी यादवको मृत्यु भएको छ। उहाँले घाँस काट्ने हँसियाले खेतमा पानी हाल्न जडान गरिएको विद्युतीय मोटरको तार काट्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु भएका तीनै जनाको पोस्टमार्टम प्रादेशिक अस्पताल कलैयामा गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बारामा प्रत्येक वर्ष कृषि मोटरबाट करेन्ट लागेर एक दर्जनजति मानिसको ज्यान जाने गरेको छ। विद्युत लाइनको प्रयोगमा सावधानी नअपनाउँदा यस्ता दुर्घटना बढिरहेको बताइएको छ।















