१७ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नो केन्द्रीय कमिटीको संरचनामा महत्त्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ ।
पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले हालै सम्पन्न बैठकबाट केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने निर्णय गरेको हो ।
किन गरियो यस्तो निर्णय ?
यस निर्णयलाई पार्टीभित्रको आन्तरिक विवाद र संरचनागत सुधारको प्रयासका रूपमा हेरिएको छ । पार्टीका संरक्षक रेशम चौधरीको अनुपस्थितिमा बसेको बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितका अनुसार, अद्यावधिकको काम चरणबद्ध रूपमा अघि बढाइनेछ। सुरुमा स्थानीय तहका जनप्रतिनिधि, त्यसपछि संघ र प्रदेशका सांसद, र अन्त्यमा अन्य केन्द्रीय सदस्यहरूको नाम अद्यावधिक गरिनेछ। यस निर्णयपछि अब नाउपाको केन्द्रीय कमिटीमा अध्यक्ष मात्र रहने र पदाधिकारीहरू नरहने नयाँ संरचना लागू हुनेछ।
दुई तिहाई बहुमतको दाबी
पण्डितका अनुसार, पार्टीको विधान संशोधन गर्नका लागि आवश्यक दुई तिहाई बहुमत पुग्ने दाबी गरिएको छ। उनले भने, ‘अद्यावधिक गराउन नचाहने कोही हुनुहुन्न। त्यसैले दुई तिहाई आरामले पुग्छ। रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा १३ जना केन्द्रीय सदस्य उपस्थित रहेको र उपस्थित नभएकाहरूले पनि निर्णयमा समर्थन गर्ने जानकारी दिएको पण्डितले बताए ।
नाउपाको विधानमा २०१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। यसअघि निर्वाचन आयोगले महाधिवेशनबाट बनेको कमिटीलाई मान्यता नदिँदा पार्टीको नाम अद्यावधिक हुन सकेको थिएन, जसले गर्दा रञ्जिता पक्ष र रेशम पक्षबीचको विवाद झनै बढेको थियो। निर्वाचन आयोगले रञ्जितालाई अध्यक्षको मान्यता दिएपछि उनले यो कदम चालेकी हुन्।















