१७ भदौ,जनकपुर । सिरहाको लहान नगरपालिकामा एक महिला र उनका छोरा मृत अवस्थामा फेला परेका छन्। सोही घरमा रहेका अर्का एक छोराको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ।
लहान नगरपालिका–१, मटिअर्वाकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी लहान नगरपालिका–१२, भोटिया टोलस्थित आफ्नै कोठामा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, बिहान १० बजेतिर रञ्जिता सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा र उनका जेठा छोरा एरोन खाटमा मृत भेटिएका थिए।
त्यही कोठामा रहेका नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेका छन् र उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, घटनास्थल पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको थियो। सोही फ्ल्याटमा बस्ने अरूले खबर गरेपछि प्रहरीले ढोका खोलेर भित्र प्रवेश गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले घरायसी विवादका कारण महिलाले आफ्ना दुई छोरालाई विष खुवाएर आफूले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ।
आमा र छोराको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

















