१७ भदौ,वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपालले पर्सा जिल्लाभर फैलिँदो विकृति, कालोबजारी, कार्टेलिङ्ग, अनियमितता र बजारमा देखिएको अस्वच्छ अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष लिखित आग्रहपत्र पेश गरेको छ।
उपभोक्ता हित संरक्षण मञ्च, पर्साले जिल्लाको बजारमा फैलिएको विकृति, कालोबजारी र अनियमितता विरुद्ध आवाज उठाउँदै प्रमुख जिल्ला अधिकारीलाई लिखित ज्ञापनपत्र बुझाएको छ। पत्रमा जिल्लाका शहरी र ग्रामीण बजारमा उपभोक्ताले भोगिरहेको समस्याको समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरिएको छ।
बजार नियमन गर्ने विभिन्न निकायहरूको आपसी समन्वयको अभाव, प्रभावकारी बजार अनुगमनको कमजोरी, र नियमनकारी संयन्त्रको निष्क्रियताले उपभोक्ताको हितमा प्रतिकूल असर पारिरहेको मञ्चको आरोप छ।
अनुरोध पत्रमा औषधि पसलहरू बिना दर्ता सञ्चालित रहेको, प्रतिबन्धित लागु औषधिहरू खुलेआम बिक्री भइरहेको, माछा–मासुजस्ता खाद्य सामग्री अस्वच्छ रूपमा बिक्री भइरहेको, र हैजाको जोखिम बढ्दो अवस्थामा रहेको उल्लेख गरिएको छ। साथै, खाद्य स्वच्छता ऐन २०८१ को प्रभावकारी कार्यान्वयन नहुँदा आम नागरिकहरू गुणस्तरीय वस्तुबाट बञ्चित भइरहेको मञ्चको भनाइ छ।
मञ्चले चाँडै आउने चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई गुणस्तरीय सेवा र वस्तु सर्वसुलभ दरमा उपलब्ध गराउन माग गरेको छ। यसका लागि सर्वपक्षीय बैठक आयोजना, जिल्ला प्रशासनको नेतृत्वमा एकीकृत बजार अनुगमन समिति गठन, र उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कडा कारबाहीको माग गरिएको छ।
त्यसैगरी, राम्रो कार्य गर्ने व्यवसायीलाई प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्नुपर्ने, उपभोक्ताको गुनासो सुन्ने हटलाइन सेवा सञ्चालन गरिनुपर्ने, र सूचना प्रवाहको व्यवस्था गर्नुपर्ने मञ्चले जोड दिएको छ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको उक्त ध्यानाकर्षण पत्र बुझाउने क्रममा मञ्चका केन्द्रिय सदस्य धिरज शर्मा, जिल्ला अध्यक्ष सुनिल श्रेष्ठ, उपाध्यक्ष अजित भुजेल, कोषाध्यक्ष रचन्द्र सिंह थापा, सदस्य प्रकाश कुमार शाह, लक्ष्मी खड्का र गजेन्द्र महतो सहभागी थिए।















